काठमाडौं ।
स्थानीय तहको निर्वाचन आउन ११ महिना बाँकी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
भेलालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा दुई जना विज्ञहरूले प्रस्तुति दिनेछन् । जनप्रतिनिधिहरूको भेला बोलाउनुको उद्देश्य समापन वर्ष भएकाले अहिलेसम्म भएका कामको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीले खेल्ने भूमिका सम्बन्धमा प्रशिक्षण दिन रहेको प्रमुख सापकोटाले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन आउन एक वर्ष पनि बाँकी छैन । जनप्रतिनिधिहरूको समापन वर्ष भएकाले अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुनिष्ठ अवस्था बुझेर निर्वाचनको तयारीका लागि भेला बोलाइएको हो ।
आगामी स्थानीय तह निर्वाचनमा वामपन्थीबिच एकता र सहकार्य हुनसक्ने सापकोटाले बताए ।
















