काठमाडौं ।
नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन थालेका छन् । सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएसँगै अध्यक्ष ओली जवाफ दिन थालेका हुन् । ओलीले जवाफ दिइसकेपछि बैठक सकिने बताइएको छ ।
शुक्रबार उपाध्यक्ष रामबहादुर थापा बादलबाट सुरु भएको धारणा राख्ने क्रम आइतबार गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका सचिव खगराज अधिकारीले बोलेपछि सकिएको हो ।
आइतबार अधिकारीसहित, शेरधन राई, यमलाल कँडेल र भानुभक्त ढकालले आआफ्नो धारणा राखे। उनीहरुले अन्य पदाधिकारीजस्तै पार्टी पुनर्गठनको पक्षमा जोड दिँदै पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
१९ सदस्यीय एमाले सचिवालय बैठकमा बहुमत सदस्यहरूले पार्टी पुनर्गठनमा जोड दिँदै समयानुकूल नेतृत्व परिवर्तन गरेर अघि नबढे एमालेको साख जोगाउन नसकिने बताएका छन् ।
तर अध्यक्ष ओलीले भने आफू नेतृत्व छाड्न अनिच्छुक रहेको बताउँदै आएका छन् ।

















