बङ्गलादेशमा दादुरा महामारी : साढे दुई महिनामा ५०० भन्दा बढी बालबालिकाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

 ढाका ।

बङ्गलादेशमा दादुरा महामारी फैलिदाँ ५०० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् । गत मार्च १५ देखिको तथ्यांकअनुसार हालसम्म दादुराबाट ज्यान गुमाउने बालबालिकाको सङ्ख्या ५१२ पुगेको छ ।जुन यो दशकौँ यताकै सबैभन्दा घातक प्रकोप बनेको छ ।शनिवार पनि मृत्यु सङ्ख्या बढिरह्यो । पछिल्लो २४ घण्टामा मात्रै १३ बालबालिकाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।

अहिले राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष (आईसीयू)का पर्याप्त शय्या उपलब्ध छैनन् । दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जुन खोकी र हाछ्युँमार्फत फैलिन्छ । एकपटक सङ्क्रमण भएपछि यसको कुनै विशेष उपचार छैन ।

यो रोग मुख्यतः बालबालिकामा देखिन्छ र यसले विशेषगरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ ।

दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ ।१७ करोड ५० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० की बङ्गलादेश प्रमुख राना फ्लावर्सले यस साता उक्त अभियानमार्फत १ करोड ८० लाख बालबालिकासम्म पुगिएको बताइन् ।

तर स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ ।युनिसेफले बुधबार जारी गरेको वक्तव्यमा सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलन र त्यसपछिको अव्यवस्थाका कारण खोप कार्यक्रम प्रभावित भएको उल्लेख गरेको छ । उक्त आन्दोलनले सरकारलाई सत्ताच्युत गरेको थियो र त्यसपछि ठुलो सङ्ख्यामा बालबालिका खोपबाट वञ्चित भएका थिए ।

स्वास्थ्य विभागले केही अत्यधिक प्रभावित क्षेत्रमा सङ्क्रमित सङ्ख्या घटेको भन्दै महामारी नियन्त्रणमा आएको दाबी गरे पनि मृत्यु सङ्ख्या भने अझै बढिरहेको छ ।हालको महामारीमा देखिएका अधिकांश सङ्क्रमित छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।एजेन्सी

  • १० जेष्ठ २०८३, आईतवार ११:५७ प्रकाशित