काठमाडौं ।
नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम समयसीमा तोक्दै त्यो कार्यमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार परिपत्र जारी गर्दै जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएका हुन्।
दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ २१ भित्र अद्यावधिक गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्यसमितिले गर्ने उल्लेख गरेका छन्। ‘क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ।’
सदस्यता अद्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्यसमितिलाई दुलालले निर्देशन दिएका छन्। पार्टीको विद्यमान सदस्यता वितरण र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन कांग्रेसले यसपटक विभिन्न डिजिटल माध्यमहरूको प्रयोग गरेको छ।
कांग्रेसले पार्टी विधान २०१७ ९एघारौँ संशोधन० र केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको निर्णयअनुसार पार्टीको अभिलेखलाई डिजिटल र पारदर्शी बनाउने प्रक्रिया सुरु गरेको हो। परिपत्र पार्टीका ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै पालिका कार्यसमितिलाई बोधार्थ पठाइएको छ।


















