काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई १ सय ९६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको छ ।
अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ र शेहान जयसूर्याले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रनको योगदान दिए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए ।
लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।
लिग–२ मा अहिलेसम्म २५ खेल खेलिसकेको नेपाल १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट ३८ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । ३० खेलबाट ३८ अंक बनाएको स्कटल्याण्ड शीर्षस्थानमा छ ।
















