काठमाडौं ।
सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सारिएको छ । रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत सारेको हो ।
उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभाग २८ नम्बरमा राखिएको छ ।
सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गुप्तचर विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालय मातहत राखेको थियो ।
२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि आलोचना भएको थियो ।
















