अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गुम्यो, २७ जना घाइते

ज्यान गुमाउने पोखराका दुई र पर्वतको मोदीका दुईजना, २७ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

अर्घाखाँचीमा भएको बस दुर्घटनामा ४ जनाको ज्यान गुमेको छ ।  २७ जना घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा बस दुर्घटनामा परेको हो ।

सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी ८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गुमेको हो भने अन्य दुई जनाको उपचारको क्रममा ज्यान गुमेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा पोखरा महानगरपालिका- १९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका-५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँची प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले जानकारी दिए ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । घटनामा अधिकांश मोदी गाउपालिका पर्वतका परेको प्रहरीको भनाइ छ ।

सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

 

  • २९ बैशाख २०८३, मंगलवार १८:१४ प्रकाशित