काठमाडौं ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयलाई लिएर संसद्मा विरोध जनाएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ ।
पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा देखिएको उनको भनाइ थियो ।
‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसदबाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन् ।
संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाइन् ।
‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् । यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’













