प्रतिनिधिसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले टेबुल गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

सरकारले नागरिकमैत्री सेवामार्फत शासकीय सुधार गर्ने उद्देश्यले १०० दिनमा गरिने १०० कार्यसूची सार्वजनिक गरेको थियो ।

वर्तमान सरकार गठन भएलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकले उक्त शासकीय सुधारको आधार पत्र जारी गरेर कार्यान्वयन गरिरहेको छ।

यस शासकीय सुधारका व्यवस्थासँगै आमनागरिकले परिवर्तनको अनुभूति गर्न थालेका छन् । विगतमा सरकारी कार्यालयमा समयमै सेवा नपाएर जनताले दुःख पाउने प्रवृत्ति अहिले धेरै हदसम्म हटेको छ ।

जनता प्रत्यक्ष जोडिएका श्रम, यातायात, स्वास्थ्य, शिक्षालगायतका सरकारी अड्डाहरूमा तोकिएकै समयमा सेवा प्राप्त हुन थालेको छ ।

कर्मचारी प्रशासन सेवाग्राहीप्रति उत्तरदायी बन्दा नागरिकले सेवाग्राहीमैत्री प्रशासनको अनुभूति गर्न पाएका छन् । अर्कातर्फ सरकारले कर्मचारीको कार्यसम्पादनलाई नतिजामुखी र मापनयोग्य बनाएको छ । यसबाट हरेक कर्मचारी सेवा, नागरिक र राज्यप्रति जवाफदेही बन्न थालेका छन् ।

दैनिक सेवा प्रवाहमा सुधार ल्याउन सरकारले यी कार्यसम्पदन सूचकलाई नतिजामा आधारित बनाएको छ । गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएकाले गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रूपमा सम्बोधन गर्न थालेका पनि छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी अधिकारसम्पन्न सम्पत्ति छानबिन आयोग गठन भएको छ भने सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्तीलाई निरुत्साहित गर्न सार्वजनिक खरिद ऐनमा संशोधन गरिएको छ। यसका साथै खरिद एवं अन्य कार्यप्रणालीलाई डिजिटल, पारदर्शी बनाई प्रतिस्पर्धालाई प्रोत्साहन गरिएको छ ।

त्यस्तै स्वदेशमै उद्यमशीलता प्रवर्द्धन, लगानी वातावरण सुधार तथा व्यवसाय दर्ता आदि प्रक्रियालाई सहज, सरल र छिटो बनाइएको छ ।

  • २९ बैशाख २०८३, मंगलवार ०९:२१ प्रकाशित