काठमाडौं ।
चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । गत आव सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।
चैत २०८२ मा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड थियो ।
चालु आव चैतसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ७।५ प्रतिशत बढेको थियो ।
चालु आव चैतसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड थियो ।
चालु आव चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ९४ हजार १ सय ८६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २ सय ५९ छ । गत आव सोही अवधिको तुलनामा यस्तो संख्या क्रमशः ३ लाख ५८ हजार २ सय २२ र २ लाख ४९ हजार ६ सय ५२ थियो ।
नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको हो । केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर १ सय ५२ रुपैयाँ पुगेको छ । पछिल्लो महिना रुपैयाँ हालसम्मकै कमजोर भएको अवस्था हो । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिट्यान्समा सुधार आएको हो ।
नेपाली रुपैयाँ कमजोर र बलियो हुने भारुका आधारमा हो । भारुसँगको स्थिर विनिमयदरले डलरको तुलनामा भारुको अवस्था अनुसार रुपैयाँ घटबढ हुन्छ ।











