चौथो संस्करणको ‘सिनेमा संवाद’को तयारी पूरा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो। यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।

संघका अध्यक्ष सन्तोष बस्यालका अनुसार कार्यक्रममार्फत चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अर्थपूर्ण संवादको वातावरण सिर्जना गर्दै समसामयिक विषयमा अनुभव आदान–प्रदान तथा सिर्जनात्मक बहस गरिनेछ ।

यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुनेछ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्।

‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन्।
‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।
‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।

कार्यक्रम विभाग प्रमुख तथा संयोजक राकेश गुरुङका अनुसार बैशाख २५ गते साँझ ‘सिनेमा साँझ’ विशेष कार्यक्रम अन्तर्गत चर्चित पोखरेली ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ, जहाँ नेपाली चलचित्रका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन् ।

संघका सचिव सुरेश सुनारले कार्यक्रमको प्रत्येक सेसन प्रभावकारी बनाउन निरन्तर तयारी भइरहेको जानकारी दिए। तयारीकै क्रममा आयोजक टोलीले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ तथा ल्वाङ सामुदायिक होमस्टे समितिसँग समन्वय गरिसकेको उनले बताए ।

यसपटक कार्यक्रमलाई अझ व्यवस्थित बनाउन सहभागिताका लागि रजिष्ट्रेसन शुल्कसमेत तोकिएको छ । सिनेमा संवादमार्फत ल्वाङ गाउँको पर्यटन प्रवद्र्धनसँगै नेपाली सिनेमा क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, कार्यक्रममा उठेका विषयलाई अवधारणा पत्रका रूपमा सम्बन्धित निकायमा पेश गर्ने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ ।

  • २३ बैशाख २०८३, बुधबार १५:४८ प्रकाशित