कास्कीको २५२ हेक्टरमा वार्षिक १०९ मेट्रिक टन अलैंची उत्पादन

२७ करोड रुपैयाँ भित्र्याउँछन् अलैंची किसानले, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यन्वयन इकाइ कास्कीअलैंची जोनको साथ

गोविन्द सुवेदी

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका ८ कोलेलीका मदन आचार्यले १० वर्ष अगाडि २० हजार रुपैयाँबाट सुरु गरेको अलैंची खेतीलाई विस्तार गरेर अहिले ८० लाख रुपैयाँ लगानी पुर्याएका छन् । सुरुमा रोजगारीका लागि दुबै पुगेका ३० वर्षीय मदन अहिले गाउँमै पूर्णरुपमा अलैंची खेतीमा आत्मनिर्भर छन् । छिम्दी बहुउद्देस्यीय कृषि फर्म दर्ता गरेर व्यवसायीक अलैंची खेती गरेका उनलाई उनका दाजु ईंन्जिनियर गणेश आचार्यको पनि भरपुर साथ छ ।

मदन र गणेश दाजुभाईले मिलेर सञ्चालन गरेको उक्त फर्मले गत सिजनमा मात्र १२ सय केजी अलैंची बेचेर प्रति केजी २५ सय रुपैयाँका दरले ३० लाख रुपैयाँ र अलैंचीका विरुवा बेचेर थप २ लाख गरेर ३२ लाख रुपैयाँ भित्र्याएको छ । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना (हाल राष्ट्रिय कृषि आधुनिकीकरण आयोजना) कास्कीबाट प्राविधिक एवं अनुदान सहयोगमा आचार्य दाजुभाईसहित स्थानीय २५ जना युवा मिलेर १५ रोपनी जमिनबाट सुरु भएको अलैंची खेती अहिले ४ हजार रोपनीमा विस्तार भएको छ ।

मदनका दाजु गणेशका अनुसार अहिले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५,६,७ र ८ का दुई सय घरधुरी अलैंची खेतीमा क्रियासिल छन् । गत सिजनमा मात्र त्यहाँका अलैंची किसानले १२ हजार केजी अलैंची उत्पादन गरेर तीन करोड रुपैयाँ र अलैंचीको विरुवा विक्री गरेर १५ लाख रुपैयाँ भित्र्याएका छन् । विरुवा विक्री, सिंचाई, भट्टी निर्माण र बजारीकरणमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अलैंची जोनले अनुदान सहयोग गर्दै आएको छ ।

माछापुच्छ्रे«का आचार्य दाजुभाईले जस्तै मादी गाउँपालिकाका वडा नम्बर २ का कृषक सुरेन्द्रजंग क्षेत्रीले १२ वर्षदेखि अलैंची खेती गरिरहेका छन् । दुई रोपनीबाट सुरु गरेको अलैंची खेती अहिले उनले ४०० रोपनीमा विस्तार गररेका छन् । क्षेत्रीले गत सिजनमा मात्र आफूले उत्पादन गरेको ५०० मन अलैंची विक्री गरेको जानकारी दिए । उनकाअनुसार मादी २ मा मात्रै ५० घरधुरी अहिले अलैंची खेतीमा आवद्ध भएर ८ सय रोपनी जमिनमा अलैंची खेती भएको छ । मादीको वडा नम्बर २, १ र ६ मा अलैंची खेती विस्तार तीव्ररुपमा भएको र विगतमा बाँझो बनेको जमिन अहिले भरपुर उपोग भएको उनले बताए ।

राष्ट्यि कृषि आधुनिकीकरण कार्यक्रम कार्यन्वयन इकाई कस्कीका कृषि अधिकृत सुजन पोखरेलका अनुसार अहिले कास्कीको २५२ हेक्टर जमिनमा अलैंची खेती भइरहेको छ । जसमा वार्षिक १०९ मेट्रिक टन अलैंची उत्पादन हुने र यहाँका किसानले गत वर्षमात्र २७ करोड रुपैयाँ बराबरको अलैंची विक्री गरेर आम्दानी लिएका छन् । राष्ट्यि कृषि आधुनिकीकरण कार्यक्रम अलैंची जोन अन्तर्गत १२०० रोपनी जमिनमा अलैंची खेती विस्तार भएको उनले जानकारी दिए । कास्कीका ५ वटै स्थानीय तहका विभिन्न वडामा अलैंची जोनका कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । वार्षिक एक सय भन्दा बढी किसान अलैंची सुपरजोन कार्यक्रममा जोडिएका छन् ।

यो आर्थिक वर्षमा ३०० रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तारको लागि कृषक छनोट गरेर अलैंची लगाउने काम सुरु हुँदै गरेको कृषि अधिकृत पोखरेलले बताए । उनका अनुसार अलैंची भट्टी निर्माणमा ८५ प्रतिशत, यान्त्रिकरणमा ५० प्रतिशत अनुदान र प्रतिरोपनी अलैंची खेती क्षेत्र विस्तारका लागि तीन हजार रुपैयाँ राष्ट्यि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई अलैंची जोनबाट कृषिकहरुले अनुदान प्राप्त गरेका छन् ।

 

  • २२ बैशाख २०८३, मंगलवार १९:३८ प्रकाशित