रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ६ रनले पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा ४.१ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाउँदा वर्षाका कारण रोकिएको खेलपछि डीएलएस प्रणालीका आधारमा२५५ रनको लक्ष्य पछ्याएको यूएई ३८ ओभरमा आठ विकेटको क्षतिमा २४८ रनमै समेटिएको हो । वर्षा पछि अम्पायरले खेल ३८ ओभरमा छा्ट्याएका थिए ।

यूएईलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए । यूएईका मोहम्मद शहदादे ६५ रनको अर्धशतकीय इनिङ खेले । शहदादले ७२ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

खुजैमाविन तन्विरले ४९ रन बनाए । तन्विरले २६ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेका थिए । ३७।२ ओभरमा पभेलियन फर्किएपछि, उनी र टिमका अक्षदीप नाथबीचको ९५ रनको अर्धशतकीय साझेदारी तोडिएको थियो ।

हरप्रित भाटियाले ४१ रन बनाए । अविजित रहेका अक्षदीप नाथले ३६ रन जोडे । ओपनर आर्यनस शमाले ३३ रन बनाउँदा अर्का ओपनर आदिब उसमानीले १४ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको नेपालले यूएईविरुद्ध निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८९ रनको योगफल खडा गरेको थियो ।

नेपालको निम्ति उपकप्तान दीपेन्द्र सिंह ऐरीले १०० रनको शतकीय पारी खेले । दीपेन्द्रले ९४ बलमा १३ चौका र एक छक्का प्रहार गरे । उनले छैटौँ विकेटको निम्ति अविजित रहेका गुल्सन झासँग १०२ रनको शतकीय साझेदारी गरेका थिए ।

दीपेन्द्रको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक समेत हो । दीपेन्द्रले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध १०५ रनको शतकीय पारी खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक आफ्नो नाममा ल्याएका थिए ।

ओपनर विनोद भण्डारीले ५६ रनको अर्धशतकीय इनिङ खेले । विनोदले ७९ बलमा सात चौका प्रहार गरे । उनले तेस्रो विकेटको निम्ति कप्तान रोहित पौडेलसँग ६७ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

विनोदले तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। यसअघि उनी सन् २०२३ मा राष्ट्रिय जर्सीमा देखिएका थिए । मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई लिग–२ अन्तर्गत ओमान, यूएई र घरेलु टोली सम्मिलित यो श्रृंखलामा दुई खेलपछि प्लेइङ ११ मा समावेश गरेका हुन् । लिग–२ अन्तर्गत यसअघि भएको यूएई र ओमानविरुद्धको पहिलो खेलमा उनी बेन्चमा थिए ।

गुल्सन झाले ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन जोड्दा आरिफ शेखले ११ र ओपनर अर्जुन कुमालले समान ११ रन जोडे ।

यूएईका अजय कुमार र जुनौद सिद्दिकीले समान दुई विकेट लिए । हैदर अली र खुजैमाबिन तन्विरले समान एक विकेट लिए ।

जितसँगै नेपालले तालिकामा १६ अंक जोडेको छ । सातौँ स्थानमा रहेको नेपालले २३ खेल खेल्दा सात जित र १४ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । नेपालको दुई खेल भने रद्द भएको थियो ।

हारसँगै यूएई समान २३ खेल खेल्दा १२ अंकमा सीमित भएको छ । तालिकाको पुछारमा रहेको पाहुना टोलीलाई यसअघि भएको पहिलो खेलमा पनि घरेलु टोलीले यूएईलाई ३७ रनले पराजित गरेको थियो । यूएईले ६ जित र १७ हारसहित १२ अंक जोडेको छ ।

  • १८ बैशाख २०८३, शुक्रबार १८:४७ प्रकाशित