घट्यो पेट्रोल-डिजेलको भाउ, बढ्यो खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल आयल निगमले पेट्रेलियम पदार्थको भाउ समायोजन गरेको छ । शुक्रबारदेखि लागू हुने गरी समायोजित मूल्य अनुसार पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ । पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो । निगमलाई इन्डियन आयल कर्पोरेसनबाट बिहीबार नयाँ खरिद मूल्यसूची प्राप्त भएको थियो । सोसँगै निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

पछिल्लो समय इन्धनको मूल्य तीव्र वृद्धि भएपछि सरकारले आलोचना खेप्दै आएको थियो । पेट्रोल र डिजेल–मट्टितेल थोरै सस्तो भए पनि हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले बढेको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४६ ले बढेको निगमले जनाएको छ । त्यसैगरी हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकेभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।

यसबाहेक खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५० रुपैयाँका दरले बढेको छ । यसअनुसार पेट्रोल प्रतिलिटर २१७ रुपैयाँमा झरेको छ भने डिजेल–मट्टितेल पनि प्रतिलिटर २२५ रुपैयाँमा झरेको छ । त्यसैगरी अब उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १४.२ किलोग्रामको २ हजार १६० रुपैयाँ र ७.१ किलोग्रामको १ हजार ८० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २६९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा १ हजार ८३१ अमेरिकी डलर मूल्य तोकिएको छ ।

निगमले पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेको जनाउँदै सोही कारण पछिल्लो समय मूल्य समायोजन हुन नसकेको उल्लेख गरेको छ ।

निगमका अनुसार यो खुद्रा बिक्री मूल्य समायोजनले पनि पाक्षिक रुपमा १ अर्ब ८१ करोड अझै घाटा हुनेछ ।

  • १८ बैशाख २०८३, शुक्रबार ०७:०७ प्रकाशित