काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केपछि गोर नेपाल आउन लागेका हुन् ।
भारतका लागि अमेरिकी राजदूत समेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजनामा छन् । तर प्रधानमन्त्री शाहले हालसम्म भेटघाट सुनिश्चित गरेका छैनन् । बालेन सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै कार्यतालिका छैन । यद्यपि भेटघाटका लागि दबाब रहेको बुझिएको छ ।
राष्ट्रपति ट्रम्पका विशेष दूतका रूपमा रहेका गोरको लक्ष्य प्रधानमन्त्रीसँग भेट्नु नै हो तर भेटघाट अझै सुनिश्चित नभएको बताइको छ । गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । हिजो मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए । नेपालमा प्रधानमन्त्री बालेनसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको भेटघाटको निश्चित भएको छ ।
यो भ्रमण पनि सहायक विदेनमन्त्री कपुर जस्तै लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ ।













