पोखरा ।
आइतबार पनि सार्वजनिक विदा दिइएसंगै यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमति पत्र) कास्कीमा सेवाग्राहीको चाप बढेको छ । विहान ८ बजेदेखि नै सेवाग्राहीलाई सेवा दिँदै आएको सो कार्यालयमा आइतबारको विदाले थप चाप बढाएको कार्यालय प्रमुख सृजना सुवेदीले जानकारी दिइन् । कार्यालयले पहिलेदेखि नै विहान ८ बजेदेखि बायोमेट्रिक, मेडिकल, आवेदन दर्ता लगायतका सेवा दिँदै आएको थियो । अहिलेपनि विहान ८ बजेदेखि नै कार्यलय खुल्ने गरेको छ । तर थप एकदिनको विदाले समस्या आएको हो ।
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा कार्यालय भवनमा क्षति भएकोमा त्यसको पूननिर्माण अझै हुन सकेको छैन । सेवा दिइरहेको कार्यलय सेवमैत्री नभएको र वाइरिङ लगायतका कार्यले समेत पूर्णता नपाउँदा सेवाप्रवाहमा समस्या रहेको प्रमुख सुवेदीले सुनाइन् । ‘भवन काम चलाउ जस्तो छ । प्रयाप्त मात्रमा ट्वाइलेट छैन, विजुलीबत्तिको उचित व्यवस्थापन हुन सकेको छैन । क्षति भएको भवन बनेको छैन । जसले गर्दा पनि समस्या भएकै छ । ’ उनले भनिन् ‘सिमित स्रोत र साधनका बीच पनि हामीले सकेसम्म सेवाप्रवाहलाई चुस्त पार्ने प्रयास गरिरहेका छौं ।
अब २४ घण्टा भित्रै लाइसेन्स उपलब्ध गराउने चर्चाले पनि कार्यालयमा लाइसेन्स लिन आउने र चासो राख्नेहरुको संख्या बढेको छ । कार्यालयमा ट्रायल पास गरेका र स्मार्ट लाइसेन्सका लागि आवेदन दिएका गरेर सन २०२३ यताका लाइसेन्स उपलब्ध हुन सकेको छैन । यातायात व्यवस्था कार्यालय कास्कीमा ३७ जनाको दरबन्दी हो । त्यहाँ अहिले २८ जना कर्मचारी कार्यरत छन् । लाइसेन्स छापिएर छिट्टै आएमा त्यसको व्यवस्थापन र वितरण्मा थप ५ जनाको जनशक्ति आवश्यक हुने उनले बताइन् ।
सेवाग्राही गिता गुरुङले कार्यालयमा पहिले नै सुधारका लागि प्रयास भएको भनिएको र अहिले पनि उस्तै सेवा रहेको सुनाइन् । लाइसेन्स लिन नपाइएको उनीसहित अरु सेवाग्राहीको समेत गुनासो छ ।













