मधेस सरकार गठनका लागि थप समय माग

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले थप समयको माग गरेका छन् ।

प्रदेश प्रमुखले दिएको समयसीमामा दलहरूले दाबी पेस गर्न नसक्दा दलहरुले थप समयको माग गरेको बताइएको छ । सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरण बन्न नसक्दा निर्धारित अवधिभित्र दाबी पेस हुन नसकेको हो ।

शुक्रबार अन्तिम समयमा सरकार गठनका लागि थप समय माग गर्दै कांग्रेससहितका तीन दलका संसदीय दलका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता युवराज भट्टराई प्रदेश प्रमुखको कार्यालय पुगेर समय थपका लागि आग्रह गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले बीचमा ३–४ दिन चाडपर्व परेको र एमालेको अधिवेशनले समेत समय लिएका कारण दलहरूबीच पर्याप्त छलफल हुन नपाई समय अपुग भएको बताए ।

करिब ६१ सांसदको प्रतिनिधित्व गर्ने तीन दलका नेताहरू मिलेर आवश्यक गृहकार्य गरी अगाडि बढ्नका लागि प्रदेश प्रमुखसमक्ष केही दिन समय बढाइदिन आग्रह गरिएको उनले जानकारी दिए ।

नयाँ सरकार गठनका लागि एमाले संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो नेतृत्वमा कसरत गरिरहे पनि कांग्रेसले अझै सहमति जनाइसकेको छैन । उता जनता समाजवादी पार्टी ९जसपा० नेपाल एमालेसहितको गठबन्धनमा सरकार बनाउने पक्षमा अनिच्छुक देखिएको छ ।

  • ४ मंसिर २०८३, शुक्रबार १६:४२ प्रकाशित