काठमाडौं ।
नेपाल ए टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा शानदार जित निकाल्दै २ खेलको शृंखला १(१ को बराबरीमा टुंग्याएको छ ।
बुधबार भएको पहिलो खेलमा खराब ब्याटिङका कारण फराकिलो हार बेहोरेको नेपालले आज भने फराकिलो जित निकाल्न सफल भएको हो ।
मध्यक्रम ब्याटिङमा शानदार प्रदर्शन गरेको नेपाल ‘ए’ ले बलिङमार्फत सुरुवातदेखि नै ओमानलाई दबाबमा राखेको थियो । १० ओभरभित्रै ३ विकेट लिएको नेपालले त्यसपछि कप्तान जतिन्दरको विकेट लिँदै ओमानलाई धराशायी बनाएको थियो । अन्तत ओमानमाथि १०० रनमाथिको अन्तरले जित निकाल्न सफल भएको हो ।
खेलअघि टसमा कप्तान अनिल साहले २८० आसपासको योगफल बनाउने बताएका थिए । सोही योजना अनुरुप नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए ले २८४ रनको योगफल खडा गरेको थियो ।
इशान पान्डेले पहिलो खेलकै लय दोहोर्याउँदै लगातार दोस्रो अर्धशतक प्रहार गरे । ठूलो स्कोरबाट भने चुकेका उनी ६९ रनको संयमित पारी खेल्दा प्लेयर अफ द म्याच समेत घोषित भए ।
पीएम कपमा शानदार प्रदर्शन गरेका युवा खेलाडी समेट्दै तयार पारिएको नेपाल ए को टोलीले एसोसियट क्रिकेटमा नेपालको परिचित प्रतिद्वन्द्वी ओमानको सिनियर टोलीलाई पराजित गर्दै एउटा स्टेटमेन्ट नै दिएको छ ।












