काठमाडौं ।
भारतको केरला राज्यस्थित एक पटाका कारखानामा हिजो भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।करिब ४० जना कामदारहरू एक अस्थायी गोदाममा पटाका बनाउँदै गर्दा विस्फोट भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।
जसमा कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।विस्फोट मंगलबार दिउँसो करिब ३ः३० बजे भएको थियो र त्यसपछि थप साना विस्फोटहरू हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।
प्रहरीका अनुसार पटाका अस्थायी संरचनाहरूमा, खेतबारी नजिकै बनाइँदै थियो, जहाँ सडक पहुँच कमजोर भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न कठिन भएको थियो ।
विस्फोटको झट्का धेरै किलोमिटर टाढासम्म महसुस गरिएको र आसपासका घरहरूमा समेत क्षति पुगेको बताइएको छ ।
यो घटना तीन दिनभित्रको दोस्रो हो । यसअघि तमिल नाडुमा आइतबार भएको अर्को पटाका कारखाना विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको थियो । भारतमा पटका उद्योगमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । एजेन्सी












