काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिबारे सत्तापक्ष र विपक्षीले छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । भोलि हुने निर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता हुँदैछ ।
संसदीय समितिहरूलाई ‘मिनी संसद्’का रूपमा समेत हेरिने गरेको छ । समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ ।
समितिका सदस्यहरू यसअघि नै मनोनीत भएकाले ती मध्येबाट सभापति चयन गरिनेछ । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बहुमत रहेकाले मतदान भएमा सबै समितिको सभापति रास्वपाले जित्नेछ । यस्तो अवस्थामा विपक्षी दलहरूले सभापतिका लागि उम्मेदवारी दिने या नदिने भन्ने निर्णयका लागि छलफल गर्ने भएका हुन् ।
विपक्षीका तर्फबाट साझा धारणा बनाउन तीन दलका नेताहरूबिच बैठक बस्न लागेको नेकपा एमालेका सांसद तथा उपाध्यक्ष गुरु बरालले जानकारी दिए । ‘छलफलपछि कुन कुन समितिमा ककसले उम्मेदवारी दिने भन्ने टुङ्गो लाग्ने उनले बताएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सांसद भीष्म आङदाम्बेले पनि १२ बजे हुने तीन दलको छलफलपछि समिति सभापतिमा उम्मेदवारी दिने नदिनेबारे टुङ्गो लाग्ने बताए ।
यता राष्ट्रिय स्वतन्त्र पाटीले पनि आजै संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद्का विषयगत समितिहरूको सभापति चयन गर्ने बारेमा छलफल गर्न बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका ९दुई वटा संयुक्तसहित० १२ संसदीय समितिको सभापति चयन गर्न लागिएको हो ।
रास्वपा नेताहरूका अनुसार रास्वपाले ११ वटा समितिको सभापति आफूले नै राख्नेछ । लेखा समिति भने विपक्षीलाई दिने रास्वपाको तयारी छ ।













