पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालय मार्फत नयाँ वर्षको पहिलो दिन (मंगलबार) भएको ‘स्वीप अपरेसन’ मा मादक पदार्थ र लागुऔषध प्रयोग गरेर सवारीसाधन चलाउने १८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार विभिन्न स्थानहरुमा मादक पदार्थ, लागू पदार्थहरु सेवन गरी होहल्ला गर्ने, सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढी रहेको भन्ने गुनासोको आधारमा स्वीप अपरेसन चलाइएको हो । दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पोखराका विभिन्न स्थानहरुमा चलेको अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । साथै ४१ जना सवारी चालकलाई जरिवाना तिराएर सम्झाई बुझाई छाडिएको छ ।
पव्रक्ता बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा ११ काहुँडाँडाबाट १० वटा सवारी साधन र ८ जना चालक, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १४ चाउथेबाट ९ वटा सवारी साधन, वडा प्रहरी कार्यालय बैदाम र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १८ मेथलाङबाट ६ वटा सवारी साधन कारवाही गरी छाडिएको, ७ वटा सवारी साधन र ५ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पोखरा ३० बेगनाबाट ८ वटा सवारी साधनलाई कारवाही गरी छाडिएको र एकजना सवारी साधन चालकले लागुऔषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएको र अन्य ४ जनालाई समेत नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ ।













