पाँच कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।
पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको छ । पेरिसडाँडामा शनिबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्ययक्ष प्रचण्ड महासचिव देव गुरूङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, र नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेल लगायतका नेताहरू बैठकमा सहभागी थिए ।

बैठकमा अन्तर्राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमहरू बारे छलफल भएको बताइएको छ । माओवादी केन्द्रका महासचिव देव गुरूङले इसराइलले प्यालेस्टाइनमा भएको नरसंहारको विरूद्धमा विभिन्न कार्यक्रम गर्ने विषयमा पाँचवटै दलबीच छलफल भएको जानकारी दिए ।

त्यस्ता कार्यक्रम सञ्चालनका लागि दिगो किसिमको संयन्त्र बनाउने कि तत्काल कार्यक्रमहरू आयोजना मात्रै गरेर जाने भन्ने विषयमा छलफल भएको महासचिव गुरूङले बताए । ‘पहिले कार्यक्रमहरू चलाउँदै गरौं । आवश्यक देखिए संयन्त्र बनाएर जानुपर्छ भन्ने छलफल भएको छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघले भनिरहेको छ तर इसराइलले प्यालेस्टिनी भूभागहरूमा युद्धविराम गरेको छैन । हेगले युद्ध अपराध भनेर वारेन्ट जारी गरेको छ । इसराइल अझै तयार हुँदैन। त्यसकारण यो विषयमा ऐक्यबद्धता जाहेर गर्नुपर्‍यो भन्ने कुराहरू छलफलमा उठेको छ।’

नेकपाका प्रवक्ता प्रकाण्डले पनि इसराइलले गजामा आक्रमण गरेको तथा इसराइल र अमेरिका मिलेर इरानमा गरेको हमलाको विषयमा छलफल भएको बताए ।

‘अन्तर्राष्ट्रिय राजनीतिमा साम्राज्यवादको दादागिरी, हमला र नरसंहार भएको विषय धेरै आपत्तिजनक र खेदजनक छ । यसका विरूद्ध ऐक्यबद्धता जनाउन योजना बनाउने विषयमा छलफल भयो । तत्काल सबै घटकबाट दुई-दुई जना बसेर कार्यक्रमको ठोस योजना बनाउने भन्ने निर्णय भएको छ,’ उनले भने।

  • २१ असार २०८२, शनिबार १९:५२ प्रकाशित