पोखरा ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ । देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।