काठमाडौं ।
हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो । नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाए । १९ औं ओभरमा एउटा नो बलमा छक्का प्रहार गरेर दुई डट बल खेलेका अहमद तेस्रो बलमा आउट भएका हुन । बसिरको विकेट लिएसँगै कुवेतले नेपाललाई १९.३ ओभरमा अलआउट गरेको होे ।
नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रनबनाए भने आशिफ शेखले ११ बलमा २१ रन जोडे । अन्य ब्याट्सम्यानले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । नेपालको ब्याटिङ लाइनविरुद्ध कुवेतका अनुदीप चेन्थमाराले तीन विकेट हात पार्दा यासिन पटेल र नवीनराज राजेन्द्रनले दुई दुई विकेट हात पारे ।
यसअघिका तीन खेलमा अपराजित नेपाल फाइनलमा चुकेको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। हङकङसँग भएको तेस्रो खेल वर्षाले अवरुद्ध भएपछि अङ्क बाँडेको नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियोे ।
कुवेत, नेपाल, हङकङ र कतार सहभागी सिरिजमा नेपाल दोस्रो भएको छ। आयोजक हङकङ तेस्रो भएको छ । आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कतार हङकङसँग एक रनले पराजित भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।