पोखरा ।
नेकपा एमालेको जरा केन्द्रित अभियान पोखरामा आजदेखि सुरु हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान कास्कीमा आजदेखि सुरु गर्न लागिएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पोखरा सभागृहमा बिहान ११ः१५ बजे यो कार्यक्रम सुरू हुनेछ । कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरूङ, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले सम्बोधन गर्ने उनले जानकारी दिए ।
अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जनवर्गीय संगठनका पदाधिकारी र सदस्य, पार्टीका संगठित सदस्य सहभागी हुने एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए । तीन महिनाको अवधिमा टोलमै पुगेर जनतासँग भेट्ने, सुझाव संकलन गर्ने, सदस्यता नवीकरण र वितरण गर्ने, वडा तहमा जनसंगठन विस्तार गर्नेलगायत गतिविधि गरिने उनले बताए ।
















