सीप अभिवृद्धिका लागि इन्जिनियर एसोसिएसन गण्डकी र ब्रजर पेन्ट्स बीच सम्झौता

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच इन्जिनियर तथा आर्किटेकहरूको सीप अभिवृद्धि तथा विद्यार्थीहरूका लागि सीपमूलक तालिम संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।

एसोसिएसन र व्रजर पेन्ट्सबीचको सम्झौताअनुसार व्रजर पेन्ट्सले इन्जिनियरहरुको व्यावसायिक दक्षता अभिवृद्धि तथा पोखराका तीनवटा इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि सीपमूलक तालिम सञ्चालन गर्न ८ लाख रुपैयाँ लगानी गर्नेछ । उक्त सम्झौता एक वर्षसम्म लागु हुने जनाइएको छ ।

सम्झौतामा नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष ई. सन्तोष जिसी र व्रजर पेन्ट्सका कन्ट्री म्यानेजर राजिव रोयले हस्ताक्षर गरेका छन् । कार्यक्रममा रोयले रंग मिलाएर लगाउने प्रविधि तथा यसको दीर्घकालीन टिकाउपनबारे जानकारी दिँदै तालिम प्राप्त पेन्टरबाट मात्रै पेन्टिङ गरिनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा एसोसिएसनका पूर्व अध्यक्ष ई. रमेश वाँस्तोलाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । अध्यक्ष ई. सन्तोष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापाले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सहसचिव ई. मञ्जु शिलाकारले गरेको सदस्य ई. महेन्द्र पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए । नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेशमा दुई हजार ३०० भन्दा बढी इन्जिनियरहरू आबद्ध छन् ।

  • ८ फाल्गुन २०८१, बिहीबार १४:५७ प्रकाशित