थाहा नपाउने गरी सरकार एमालेकरण हुँदैछ : शेखर कोइराला

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले विस्तारै सरकार एमालेकरण हुदैँ गइरहेको आरोप लगाएका छन् ।

मङ्गलबार काठमाडौँमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले सो बताएका हुन् । उनले नेपाली काँग्रेस अहिले सरकारमा नरहेको बताए । कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरेका हुन् ।

सांसद कोइरालाले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताए । बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनको आरोप छ । उनले काँग्रेस सरकारमा नरहेको बताएपनि अहिले काँग्रेस र एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ ।

नेता कोइरालाले संयन्त्रद्वारा सरकार चलाउने कुरा कम्युनिस्ट र साम्यवादी देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने प्रष्ट्याए । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
उनले भने, ‘कता कता मलाई चिन्ता लागेको छ । हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ।’

‘हामी प्रतिस्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली काँग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ, नेता कोइरालाले भने, ‘मलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ । संयन्त्रद्वारा सरकार चलाउने कम्युनिस्ट र साम्यवादी देशहरूमा मात्रै हुनसक्छ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ । लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ ।’

  • ६ फाल्गुन २०८१, मंगलवार १३:५१ प्रकाशित