डुम्रे ।
प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।
भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्तिमात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ । रासस