पोखरा ।
बुटवलको दीपनगरबाट सुरु भएको ड्याडिज किचनले आफ्नो ब्रान्च विस्तारलाई निरन्तरता दिएको छ । ड्याडिज ग्रुप द्वारा सञ्चालित उक्त किचनको २२ ब्रान्च शुक्रबार देखि पोखराको मुटु मानिने चिप्लेढुंगामा सञ्चालनमा आएको छ ।
युवा उद्यमीद्वारा नेपालमै केही गरौँ भन्ने उद्देश्यका साथ सन् २०१२ मा बुटवलको दीपनगरबाट ठेला, फुड ट्रक, क्याफे हुँदै रेष्टुरेन्टको रुपमा सञ्चालित ड्याडिज किचनले योसँगै देशभर २२ वटा शाखा सञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष कमलजङ्ग कुँवरले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । पोखरामा १० वर्षअघि सुरु गरिएको यो किचन चिप्लेढुंगासहित अब चार ठाउँमा सञ्चालनमा आएको हो । पोखरा १७, बिरौटामा ड्याडिज फुड ट्रकको रुपमा सञ्चालित रहेकोमा सबैको अपार सहयोग, सद्भाव र साथले पोखरामै हाल ४ वटा शाखा विस्तार गर्न सफल भएको कुँबरले खुलाएका छन् ।
पोखरामा रहेका पोखरा १७, बिरौटामा ड्याडिज फुड ट्रक, पोखरा १७ बिरौटा, हिमालीटोलमा ड्याडिज किचन, पोखरा ८, सिमलचौरमा ड्याडिज एक्सप्रेस र पोखरा ९, चिप्लेढुङ्गा, बिनायक मार्ट अगाडि ड्याडिज किचनको रुपमा सञ्चालनमा रहेको छ ।
चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा कार्यालय ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षीया आमा लक्ष्मीदेवी द्वाले संयुक्तरूपमा समुद्घाटन गरेको ग्रुपका अध्यक्ष कुँवरले खुलाए । उद्घाटन अवसरमा शुक्रवार नै राष्ट्रिय कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले साङ्गीतिक प्रस्तुति राख्नुहुने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, माघ १५ गतेसम्म क्रमशः हास्यकलाकार सन्दीप क्षेत्री, गायक एस. कुमार र कपिल पुन र नेशन पुनसमेतको प्रस्तुति रहनेछ ।
यहाँ नेपाली, इन्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खानारखाजा, फुड डेलिभरीको सुविधा, मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्युजिक, वर्थडे लगायत विभिन्न कार्यक्रमहरूको सेलिब्रेसन, रमाइलो अनि आरामदायी वातावरण, आत्मीय सेवाको अनुभव, व्यवस्थित पार्किङ लगायत सुविधा पाउन सकिन्छ ।
रूपन्देही, कास्की र काठमाडौंका विभिन्न ठाउँमा विस्तार गरेका २२ शाखाहरूमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेन्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरूमा क्यान्टिन सञ्चालित छन् । आगामी वर्ष सन् २०२५ मा भारतको राजधानी नयाँ दिल्लीबाट ड्याडिज किचन नामबाट थप सेवा विस्तार गर्ने योजनामा रहेको कुँवरले खुलाए ।
पोखरामा ड्याडिज ग्रुपको व्यवस्थापन लगायतका कार्य हेर्ने सन्दिप क्षेत्रीले चिप्लेढुङ्गामा बाइक स्कुटर पार्किङको सुविधा सहित सेवा विस्तार गरिएकोले ग्राहकलाई सहजता हुने विश्वास व्यक्त गरे । उचित हल, लाइभ म्युजिक मात्र नभएर पाइने परिकार र सेवा समेत उत्कृष्ट रहेको उनको दावी छ ।
ड्याडिज किचनमा नेपालभर ७ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी पाएका छन् । पोखराका ४ शाखाहरूमा २ सय ७० जनाभन्दा बढी रोजगारत रहेको बताइएको छ । अध्यक्ष कुँवरका अनुसार चिप्लेढुंगा शाखामा ४ करोड लगानी भएको छ । पोखराका ४ वटा शाखामा भने १५ करोड लगानी भएको उनले बताए । ड्याडिज किचन कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौँ भन्ने स्लोगनका साथ यसले सेवा दिइरहेको छ ।