मुस्ताङमा हिमपात भइरहेकाले यात्रामा ननिस्कन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।  एक जरुरी सूचना जारी गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मौसम प्रतिकुल हुनसक्ने देखिएकाले सचेत गराउन र हेलचेक्रयाइँ नगर्न आग्रह गरेका हुन् ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न र नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । ‘हिमपात र वर्षाका कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

  • ११ कार्तिक २०८२, मंगलवार ०८:५३ प्रकाशित