पोखरा ।
देशकै पर्यटकीय राजधानी पोखराको फिर्के माथि भूपि शेरचन राजमार्गमा चार लेनको पुल निर्माण गर्न ठेक्का लागेको ६ वर्ष पुरा भएको छ । उक्त पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ असोज २०७५ मा सम्झौता भएको हो ।
सम्झौता अनुरुप ३० चैत २०७७ मा नै पुल निर्माण भइसक्नु पर्ने हो । तर, उक्त पुलको भौतिक निर्माण कार्य हालसम्म जम्मा ३० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय पोखराले जानकारी दिएको छ । प्रदेश राजधानी पोखरामै सडक अनुरुपको पुल निर्माण लागि ठेक्का लागेको ६ वर्ष पूरा हुँदा समेत देखिने काम नहुँदा पुल निर्माण परियोजना विकास निर्माणमा बेथितिको उदाहरण बन्न पुगेको छ ।
सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर प्रतिक प्रधानका अनुसार पुल निर्माणका लागि तेस्रो पटक थपिएको म्याद सकिएको छ । अब म्याद नथप्ने र धरौटी फिर्ता माग्ने प्रक्रिया अगाडि बढाएको भएपनि निर्माण कम्पनीले अदालतबाट स्टेअर्डर ल्याएका कारण अन्योलता बढेको छ ।
संघीय कानून र नियमावली अनुरुप निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्ने कार्य भएपनि प्रगति नभएपछि धरौटी जफतको प्रक्रिया अगाडि बढाउँदा पनि सफल नभएको सडक डिभिजन कार्यालयले बताएको छ । यद्यपी अहिलेकै निर्माण कम्पनीले अब दशैं तिहार लगत्तै स्टिल स्टक्चर ल्याएर कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाएकाले काम अगाडि बढ्ने आशा रहेको ई. प्रधानले सुनाए । ‘अहिलेको निर्माण कम्पनीले स्टेअर्डर ल्याएको छ । जसका कारण अर्को ठेकदार परिवर्तन गर्ने कूरा भएन । हेरौं, दशैं तिहार लगत्तै स्टिल स्टक्चर आइपुग्छ । काम अगाडि बढाउँछौं भनेको छ । तर ठ्याक्कै निर्माणको काम कहिले सकिन्छ भन्ने अवस्था रहेन’ उनले भने ।
पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले पाएको हो । हाल रहेको पुलको तल्लो र माथिल्लो भाग तर्फ २र२ लेनको पुल निर्माण गर्ने ठेक्का पाएको उक्त कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण अबधी थप्ने गरेको छ । अहिले अदालत नै पुगेर स्टेअर्डर जारी गराएको छ ।
निर्माण कम्पनीका परियोजना निर्देशक सुमन पौडेलले लामो समयसम्म मुआब्जा नटुंगिएको, कोरोना संक्रमण र काम गरेका पैसा समेत भुक्तानी नपाएको समस्या सुनाए । हाल रहेको पुलको तल्लो तर्फ साइड क्लियर भएपनि माथिल्लो तर्फ भने अझै समस्या रहेको उनले जानकारी दिए ।
निर्माण कम्पनीलाई मात्र दोष दिन नहुने र काम गर्ने वातावरण पनि बनाइनुपर्ने उनले टिप्पणी गरे । ‘बाहिरबाट हेर्दा निर्माण कम्पनीलाई मात्र दोष दिइन्छ । मुआब्जाको काम बल्ल पोहोर असोजमा टुंगिएको हो । अझैपनि साइड क्लियर छैन । खानेपानीको पाइप र सिंचाईको पाइप क्लियर गर्नुपर्नेमा त्यो हुन सकेको छैन’ उनले भने ।
निर्माण कम्पनीका परियोजना निर्देशक पौडेलका अनुसार निर्माण कम्पनीले अब सरासर काम गर्न पाए अगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने दाबी गरे । उनका अनुसारमाथि तर्फ साइड क्लियर गरेर काम गर्ने वातावरण अझै बनेको छैन’ उनले भने ।
फिर्केमा बन्ने पुल नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गर्नेगरी सम्झौता भएको छ । कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो । माछापुच्छ्रे हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउन लागिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख, डिभिजनल इन्जिनियर नबराज बास्तालाले जानकारी दिए ।