पोखरामा ७ दिने आधारभूत लेखा तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ७ दिने आधारभूत लेखा तालिम संचालनमा ल्याएको छ ।
सोमबारबाट सुरु भएको तालिममा ३० जनाभन्दा बढीको सहभागिता रहेको छ । पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीका अनुसार चुस्त–दुरुस्त रुपले लेखा व्यवस्थापन गर्ने दक्ष जनशक्ति उत्पादनको लागि निःशुल्क तालिमको आयोजना गरिएको हो ।

‘लेखा व्यवस्थापन गर्नु भनेको सम्पत्ति संरक्षणमात्र हैन, कानूनी झमेलाबाट मुक्ति पाउनु पनि हो,’उनले भने,‘सही तरिकाले लेखा नराख्दा झमेलामा पर्न सकिन्छ । चुहावत हुनसक्छ,त्यसैले सही तरिकाले लेखा राख्नैपर्छ ।’ उनले लेखापालको जागिर आफैमा आकर्षक रहेको पनि जिकिर गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका वित्त महाशाखा प्रमुख जयराम पौडेलले लेखा प्रणाली भनेको व्यक्ति तथा व्यवसायीको जीवनको अत्यावश्यक सर्त रहेको बताए । उनले सही तरिकाले लेखा राख्दा दण्ड–जरिवानाको झन्झट नआउने र आफ्नो सम्पत्तिको सही सुरक्षा हुनेसमेत धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले वित्त व्यवस्थापनको प्रारम्भिक कार्य नै लेखाबाट सुरु हुने बताउँदै सही तरिकाले लेखा राख्नु व्यवसायी स्वयंको लागि पनि राम्रो हुने बताए । उनले नियामक निकायहरुलाई भुलवशः हुने गरेका सामान्य त्रुटिलाई देखाएर ठूलो दण्ड–जरिवाना गर्नुभन्दा वित्तीय साक्षरता र यस्ताखालका तालिम आयोजना गर्न पनि सुझाए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा प्रशिक्षक अपिल सिग्देललगायतले वित्त व्यवस्थापनका फाइदा तथा तालिमले दिने रोजगारीबारे प्रकाश पारेका थिए ।

  • २८ जेष्ठ २०८१, सोमबार २१:१० प्रकाशित