साकुरा रोप्दै महानगरले सुरु गर्‍यो ग्रीन पोखरा क्लीन पोखरा अभियान

केन्द्रभाग मिडिया

पोखरा ।
विश्व वातावरण दिवसको अवसर पारी पोखरा महानगरले ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ । ५२ औं विश्व वातावरण दिवसको अवसर पारी पोखरा महानगर पालिकाले पोखराको लेकसाइड स्थित कोमागाने पार्कमा साकुरा, चेरी लगायतका प्रजातिको विरुवा रोपी ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको हो ।

उक्त अभियान अन्तर्गत पोखरा महानगर भित्रका विभिन्न ठाँउमा २ लाख २६ हजार विरुवा रोपिने छ । पोखरा महानगरपालिका वडा नं ६ को समन्वय र इन्स्टीच्युट अफ हिमालयन कन्जरभेसन र क्योतो युनिभर्सिटी जापानको सहयोगमा पोखराको कोमागाने पार्कमा साकुरा, चेरी लगायतका विभिन्न २३ वटा विरुवाहरु रोपी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको हो ।

बृक्षारोपण कार्यक्रमको शुरुवात गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले चेरी, आरु र साकुराका प्रजाति नेपालमै पाइने फुल भए पनि पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको वेला जापानबाट ल्याएर पोखरामा रोप्न पाउँदा खुसी लागेको वताए ।

महानगरपालिकाको पहिलो भगिनी सम्बन्ध रहेको कोमागाने सहरको नामबाट राखिएको कोमागाने पार्कबाट ग्रीन पोखरा क्लीन पोखराको अभियान शुरु भएको र यो अभियान अन्तर्गत पोखरा महानगरभित्र २ लाख २६ हजार विरुवा रोप्ने समेत उनले वताए ।

त्यस्तै क्योतो युनिभर्सिटीका प्रोफेसरले साकुराको उत्पति नेपालमै भएको भएतापनि यसलाई जापानिहरुले धेरै रुचाउने गरेको जानकारी दिए । उनले नेपालमा नै ल्याएर साकुराको बिरुपा रोप्न पाउदा खुसी लागेको वताए ।

  • २३ जेष्ठ २०८१, बुधबार १७:५७ प्रकाशित