पोखरा ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुुपर्नेमा जोड दिए ।
धार्मिक पर्यटनको आँर्फैमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राखे । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढीरहेको बताउँदै उनले विकास क्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुुबनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात ताल मध्येको ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् साधन स्रोतका दृष्टिबाट महत्वपूर्ण सम्पदन भएको बताए ।
तालसँगै यहाँस्थित धार्मिक महत्वको बराह मन्दिरका साथै लक्ष्मी नारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अघि बढीरहेको उनले बताए ।यस क्षेत्रको समग्र विकासका लागि २०७५ साल मंसिरमा सञ्चालित महायज्ञसँगै संकल्प गरिएका अधिकांश कामहरू सम्पन्न भएको बताउँदै उनले स्थानीयवासी, तीनवटै तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको जानकारी समेत दिए ।
आगामी आर्थिक वर्षमा बेगनासताल क्षेत्र वरपरका धार्मिक शक्तिपीठ, मठमन्दिर , देवालय एवम् गुम्बाको समग्र विकासका लागि गुरुयोजना सहतिको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण एवम् आर्थिक सहयोगका लागि स्थानीय एवम् प्रदेश सरकार अनुरोध गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए । बेगनासतालमा पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक पूर्वाधार विकासका लागि पहल गरिने उनको भनाइ छ ।बेगनासतालको वरपर रिङ्गरोड (पैदल मार्ग र साइक्लिङ मार्ग) निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्न सम्बन्धित निकायमा पहल गरिने बताए ।
पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा महानगरपालिका वडा नं ३१ भित्रका धार्मिक सम्पदाको संरक्षणसँगै तिनीहरूको पूर्वाधार विकासलाई वडाले प्राथमिकतामा राखेको बताए ।पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.इन्द्रप्रसाद तिवारीले सबै किसिमको रोजगारीका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । विश्वमा नै धार्मिक पर्यटनको विशिष्ट महत्व रहेको उनकोे भनाइ छ ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका अधिकारी, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी अधिकारी, बेगनासताल बराह महाआरती संयोजक राममणि अधिकारी, बराह मन्दिर निर्माण समितिका संयोजक सुरेन्द्र सापकोटा, पोखरा ३१ का निवर्तमान वडा अध्यक्ष कमलबहादुर थापा, शिव गोरक्षपीठ सिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी, लेखनाथ होटेल तथा रेष्टुरेन्ट एशोसिएसनका अध्यक्ष बीरभद्र कंडेल लगायतले बेगनास बराह लगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्नेमा जोड दिएका थिए ।












