गण्डकी प्रदेशको १० हजार २५४.२३ हेक्टर वनमा डढेलो

५ सय ५४ स्थानमा डढेलो, दुई जनाको ज्यान गुम्यो, ४ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका विभिन्न ५ सय ५४ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार डढेलोका कारण १० हजार २५४.२३ हेक्टर वन डढेलोले प्रभावित भएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोलो लागेको वन निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता निर्मला कुमारी फुलाराले जानकारी दिइन् । अहिले बर्षा सुरु भएसंगै प्रदेशका सबै स्थानमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

डढेलोमा परेर गण्डकीमा २ जनाको ज्यान गुमेको छ भने, ४ जना घाइते भएको प्रवक्ता फुलाराले बताइन् । उनका अनुसार डढेलोका कारण वागलुङ र कास्कीमा १/१ जनाको ज्यान गुमेको हो ।

वागलुङमा १ जना,  म्याग्दीमा १ र स्याङजामा २ जना गरेर ४ जना घाइते भएका छन् । वागलुङमा ५ घर, ९ गोठमा आगाली भएर पूर्णरुपले नष्ट भएका छन् भने, ६ भैंसी र ३ बाख्रा मरेका छन् ।

स्याङ्जामा दुई वटा घर र २ गोठ जलेर पूर्ण क्षति भएको छ । सो जिल्लामा १४ कुकुरा मरेका छन् । नवलपुरमा ८५ क्युफिट काठ र १ सड्टा दाउरा नष्ट भएको छ ।

५८ प्रतिशतले जानीजानी डढेलो लगाउँछन्

गण्डकी प्रदेश निर्देशनालयका निर्देशक रामकाजी श्रेष्ठका अनुसार गण्डकीको मुस्ताङ जिल्लाबाहेक सबै जिल्लामा डढेलो लागेको छ । अधिकांस मानवीय कारणले नै बनमा डढेलो लागेको उनले बताए ।

५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको उनको भनाइ छ। वन डढेलोका बहुअसर रहेको उनले बताए ।

डढेलोले माटोको प्रांगारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उनको भनाइ छ । डढेलोले भू(क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने निर्देशक श्रेष्ठले बताए ।

  • २८ बैशाख २०८१, शुक्रबार १३:२३ प्रकाशित