संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही २० वैशाखमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो ।

नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ । १ वैशाखमा सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले तयरी गरेको छ ।

अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची तयार गरेको छ । जसअनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका सांसदहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।  संसद्को तेस्रो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै संसद् अवरोध गरेको थियो । आजको बैठकमा भने कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने बताएको छ । साथै उनीमाथि संसदीय छानबिन समिति नबनाए सदन चल्न नदिने कांग्रेसको अडान भने यथावत रहेको कांग्रेसले जनाएको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार ०७:५६ प्रकाशित