अधिकारी नेतृत्वको गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

केन्द्रभाग मिडिया

पोखरा ।

खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजलाई पेसी तोकिएको छ । कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको हो ।

प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर पाण्डेले दायर गरेको रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि पाण्डे सर्वोच्च पुगेका हुन् ।

अधिकारीले सोमबार विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे पनि कांग्रेसले असंवैधानिक कार्य भएको भन्दै विरोध गर्दै आएको छ । ६० सदस्यीय प्रदेशसभाबाट अधिकारीले ३० मतमात्रै प्राप्त गरे पनि आफू निर्णायक रहेको भन्दै सभामुखले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुने अवस्थामा मुख्यमन्त्री अधिकारीले सभामुख धितालको मत समेत जोडेर विश्वासको मत पाएको घोषणा गरिनु असंवैधानिक भएको दाबी नेपाली कांग्रेसको छ ।

रिटमा कोशीको नजिर, संविधानले तोकेको सभामुखको भूमिका र अघिल्लो रिटमा समेत गरिएको व्याख्यालाई आधार बनाउँदै मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरकानुनी भएकाले बदर हुनुपर्ने जिकिर गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नु र नगराउनु भनी अन्तरिम आदेश जारी गरेर कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ ।

यसै गरी मुख्यमन्त्री अधिकारीको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार गठनका लागि परमादेश जारी हुनुपर्ने माग समेत गरिएको छ । खगराज अधिकारी संविधानको धारा १६८ को उपधारा २ अनुसार विश्वासको मत पाउन असफल भएका कारण अब स्वतः उपधारा ३ को प्रक्रियामा जानुपर्ने उनको रिटमा माग गरिएको छ ।

  • २७ बैशाख २०८१, बिहीबार ०७:५० प्रकाशित