स्वार्थी र कम्युनिष्टविरोधी तत्वले अनर्गल हल्ला चलाए : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपमा प्रचार गरेको बताएका छन् । उनले बुधबार एक विज्ञप्ति निकालेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एकीकृत समाजवादी पनि फुट्दै छ भनेर गलत प्रचार भइरहेको भनी खनालले भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ। केही अवाञ्छित, स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् ।

त्यसले पार्टीव्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो’, खनालले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टीविरोधी क्षुद्र तत्त्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ ।’

  • २६ बैशाख २०८१, बुधबार १४:२४ प्रकाशित