ट्राफिक नियम पालना गर्न झन्झट नमानौं : मुख्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गरेका छन । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गरेका हुन ।

‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उनले भने । शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्नेमा उनको जोड थियो ।

ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने अधिकारीले बताए । सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकै नमुना ठाउँ बन्ने विश्वास मुख्यमन्त्री अधिकारीले गरे ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सवारी दुर्घटना अधिकांश अवस्थामा चालकको लापरबाहीले हुने गरेको बताउदै त्यसतर्फ चालकहरुलाई सचेत गर्नुपर्नेमा जोड दिदै ट्राफिक सचेतनाका लागी महानगर सरोकारवाला निकाय संग सहकार्य गर्न तयार रहेको वताए ।

त्यस्तै यातायात ब्यवशायीहरुको तर्फबाट भनाइ राख्दै पृथ्वी राजमार्ग यातायात कम्पनीका अध्यक्ष योगेन्द्र केसीले ट्राफिकका लागि ट्राफिक नियम पालना गर्ने होइनकी आफ्नो सुरक्षाका लागी ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना न्यूनिकरण हुने वताए । दुर्घटना सम्बन्धी चालकहरुलाई प्रशिक्षण गराउदै आएको भएतानि यसलाई निरन्तरता दिनका लागी सरोकारवालहरुले ध्यान दिन आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो ।

 

  • २५ बैशाख २०८१, मंगलवार १८:३४ प्रकाशित