उपेन्द्र नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका छन् ।

आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए । सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला नै होइन भन्दै उनले त्यस विषयमा कुराकानी नभएको बताए ।

पार्टीमा भएको घटनाको विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको बताउँदै उनले पार्टीको बैठकबाट छलफल गरी अगाडि बढ्ने बताए । जसपाका प्रवक्ता मनिष सुमनले पनि सरकारलाई दिएको समर्थन कायम रहने नरहने विषयमा पार्टीले छलफल गरेर टुगों लगाउने बताए ।

उनले आजै पार्टीका शीर्ष नेता तथा सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनी जनसङ्ख्या सम्बन्धी एक कार्यक्रममा भाग लिन वैशाख १५ गते अमेरिका गएका थिए । अमेरिकाबाट कतार हुँदै उनी हिजो राती काठमाडौँ आइ पुगेका छन् ।

उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए ।

  • २५ बैशाख २०८१, मंगलवार १४:०६ प्रकाशित