सांसद देवकोटा भन्छन्, ‘नेसपाले मलाई मन्त्री बनाउने निर्णय नै गरेको छैन’

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेशसभा सदस्य फडिन्द्र देवकोटाले आफू कुनै पार्टीको कोटाबाट नभई आफ्नै पार्टीको कोटाबाट मन्त्री बन्ने टिप्पणी गरेका छन् ।

सोमबार मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दा देवकोटालाई पनि मन्त्री बनाउन खोजेका थिए । तर आफ्नो पार्टीले निर्णय नगरेकाले आफू मन्त्री नबनेको उनले प्रष्ट्याएका छन् ।

आफू अस्थिरताको पक्षमा नरहेकाले पार्टीकै सल्लाहमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको तर दलको नेताको हैसियतले आफ्दो दलको निर्णय जे हुन्छ त्यही अनुरुप अगाडि बढ्ने उनले बताए । आफू मन्त्री बन्ने नबन्ने भन्ने विषय २७ देखि २९ बैशाखसम्म बस्ने बैठकले टुंग्याउने उनको भनाई छ ।

‘म नेपाल समाजवादी पार्टीको नेता हुँ । पार्टी ठूलो सानो आफ्नो ठाउँमा छ । उसले जे निर्णय गर्छ मैले त्यहि मान्ने हो’ उनले भने, म मेरै पार्टीको कोटाबाट मन्त्री बन्ने हो । यसमा पार्टीको निर्णय जे हुन्छ मैले त्यही गर्ने हो ।’

एमाले कोटाबाट मन्त्री नियुक्त भएका सिता सुन्दास र वेदबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन २५ चैतमा माओवादीका हरिबहादुर चुमान र मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) लाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । ८ वैशाखमा मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

नव नियुक्त मन्त्री गुरुङले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

  • २४ बैशाख २०८१, सोमबार १९:५६ प्रकाशित