गण्डकीमा अधिकारी सरकारको पक्षमा ३० मत, विश्वासको मत पाएको सभामुखको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा प्रदेश सभामा ३० मत खसेको छ । यसैलाई सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोधका बावजुद सभामखु धितालले उक्त घोषणा गरेका हुन्। धितालले आफूलाई पनि संविधानको धारा १८६ अनुसार मतदान गर्ने अधिकार भएको भन्दै आफूसहित मुख्यमन्त्री अधिकारीलाई बहुमत भएको घोषणा गरेका हुन् । सभामुख धितालले बहुमत भएको घोषणा गर्दैगर्दा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी थालेका थिए ।

‘सर्वोच्च अदालतको वैशाख १७ गतेको व्याख्याअनुसार मुख्यमन्त्री खगराज अधिकारीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमत पुग्ने घोषणा गर्दछु,’ नाराबाजीबीच सभामुख धितालले घोषणा गरे ।

उनले सभामा आफूबाहेक ५९ जना सांसद मतदान प्रक्रियामा २७ मत विपक्षमा र २ मत तटस्थ बनेको थियो ।

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र समाजवादी छाडेका घोषणा गरेका सांसद राजीव गुरुङले मत दिएका थिए। विपक्षमा कांग्रेसका २७ सांसदले मतदान गरेका हुन् । राप्रपाका २ जना सांसद तटस्थ बसे ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सरङ्गा सुवेदीको संयुक्त इजलासले १७ बैशाखमा सभामुखबाहेक ५९ जना सांसदको बहुमत ३० जनाले पुग्ने व्याख्या गरेका थिए ।

 

  • २३ बैशाख २०८१, आईतवार १८:५८ प्रकाशित