आज विश्वासको मत लिदैँ गण्डकीका मुख्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयमा उनले विश्वासको मतको प्रस्ताव पेस गर्ने जानकारी गराइसकेका छन् ।

विश्वासको मतको लागि आज(आइतबार) दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । एमाले र माओवादीले संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । शनिबार दुबै पार्टीको बैठक संसदीय दलको कार्यालयमा बसेको हो । ‘सबै सांसदहरुलाई ह्वीप जारी गरिएको छ,’ एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने, ‘बाँकी काम विश्वासको मतपछि अघि बढ्छ ।’

माओवादीले पनि सातै सांसदलाई ह्वीप जारी गरेको प्रमुख सचेतक कुसुम बुढाले बताइन् । शुक्रबार पनि माओवादीको बैठक बसेको थियो । तर नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा उक्त बैठकमा सहभागी नभएकोले पुनः शनिबार अर्को बैठक बसेको हो ।

विश्वासको मत अघि नै मन्त्रालयको टुंगो लगाउनुपर्ने माग माओवादीको छ । अहिले कायम रहेका ७ मन्त्रालयमध्ये कम्तीमा ३ मन्त्रालय माओवादीले मागेको छ । दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी २ मन्त्रालयको नाम नटुंगिए पनि दलहरुबीच मन्त्रालयको संख्या भागबण्डा मिलाउनुपर्ने प्रमुख सचेतक कुसुम बुढाले बताइन् ।

नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् ।

सभामुखलाई समेत गणना गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले सर्वोच्च पुगेको थियो । तर सर्वोच्चले नेपाली कांग्रेसले दर्ता गरेको रिट खारेज गरेपछि उनले विश्वासको मत लिने बाटो खुलेको थियो ।

सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो ।

  • २३ बैशाख २०८१, आईतवार ०८:४१ प्रकाशित