म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको पनि बताए । पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरूको अधिकारलाई दिलाउनका लागि महत्त्वपूर्ण भूमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए ।

उनले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्पित भएर काम गर्न लागि परेको दाबी गरे । उनले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे ।

  • १७ बैशाख २०८१, सोमबार १६:४८ प्रकाशित