विपिन जोशीको रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख बिच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए ।

हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाटमा विपिन जोशीको रिहाका लागि अमिर शेखलाई पहल गर्न आग्रह गरिएको थियो । त्यहाँ पनि अमिर शेखले आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाएका थिए ।

कतारी राजा नेपाल भ्रमणमा आउने भएपछि विपिन जोशीका परिवार काठमाडौँ आएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड दुवै जनालाई भेटेर जोशीको रिहाका लागि पहल गरी दिन कतारका राजा शेखलाई आग्रह गर्नका भनेका थिए ।

  • १२ बैशाख २०८१, बुधबार १३:५० प्रकाशित