दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ ।

पोखरा सभागृहमा १२ बैशाखसम्म चल्ने उक्त मेलाको उद्घाटन सोमबार गण्डकी प्रदेशसभाका उपसभामुख विना थापाले एक समारोहका बीच गरेकी हुन् । मेलाको उद्घाटन गर्दै उनले स्वदेशमा नै रोजगारका अवसरहरु खोजिनुपर्नेमा जोड दिइन् । बैदेशिक रोजगारीमा जाँदाका झन्झट र त्यसले पारेको असरको बारेमा ध्यान दिनुपर्ने बताइन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगार मेला धेरै अवसर लिएर आएको बताए । उनले वास्तविक तथ्यांकको अभाव रहेको भन्दै पोखरा महानगरले प्रत्यक बस्ती र घरमा पुगेर यथार्थ तथ्यांक संकलन गरेको र त्यसलाई अन्तिम रुप दिनेक्रममा रहेको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले रोजगारीको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको भन्दै निजी क्षेत्र र सरकारको साझा प्रयासले नै रोजगारी बृद्धि गर्न सकिने धारणा राखे । उनले समाजमा धेरै नकारात्मक तर्क गरिने उल्लेख गर्दै अब सकारात्मक ढंगले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष अमृत भट्टचन, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी पोखरा महानगरापालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया लगायतले उद्घाटनका अवसरमा मेलाको विविध पक्षका बारेमा बोलेका थिए ।  सो अवसरमा विभिन्न प्रस्तुति समेत राखिएको थियो ।

मेलामा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमका विषयमा विद्यार्थी एवं सरोकारवालाका लागि जानकारी सहितको परामर्श प्रदान गरिने छ । बेरोजगारका लागि रोजगारीको अवसर र रोजगार दाताका लागि कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा बिकास गरी रोजगार बिनियम प्रणाली बिकास गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको हो।

वृत्ति परामर्श तथा रोजगार मेलाका सूचना, प्रचा प्रसार उपसमितिका संयोजक अम्बिका प्रसाद आचार्यले रोजगार मेलामा विशेष गरी उच्च शिक्षा अध्ययन र रोजगारी सृजना, उद्यमशिलता र रोजगारी विषयमा महत्वपूर्ण हुने जानकारी दिएका छन् । उनले विज्ञहरुबाट स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी, उद्यमशिलता, रोजागारी र शिक्षा, आन्तरिक श्रम बजार अवसर र चुनौती, ब्यवसाय बिकास र लगानी वातावरण लगायतका विषयहरुमा टल्क शो कार्यक्रम आयोजना गरिएको वताए ।

मेलाले शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइ बेरोजगारहरुका लागि रोजगारीका अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै श्रम बजारमा रहेका रोजगारदाताहरुका लागि दक्ष जनशक्ति कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा बिकास हुने पनि अपेक्षा राखिएको छ ।

रोजगार मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण ब्यवशाय, आइटी व्यवशाय, मुद्रण ब्यवशाय, अटो मोवाइल्स, अडिटर एसोसियसन, बैंक तथा वित्तिय संस्था, घरेलु तथा साना उद्योग, नव उद्यमी ब्यवशाय, नव प्रवर्तनात्मक अभ्यास, विद्यालय क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगारदाता संस्थाहरु लगायतको स्टलहरु रहेका छन् ।

 

  • १० बैशाख २०८१, सोमबार २२:४९ प्रकाशित