सहकारी पीडितको पोखरामा र्याली, मेयर आचार्यले जनाए ऐकेवद्धता (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीका सहकारी पीडितहरुले न्याय माग्दै पोखरामा र्यालीसहितको खबरदारी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की अगाडिबाट सुरु भएको र्याली पोखरा महानगरपालिका कार्यालाय हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै समापन गरिएको हो ।

त्यसक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई पनि ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै महानगरका प्रमुख धनराज आचार्यले सहकारी पीडितहरुको आन्दोलनमा आफ्नो पनि ऐक्यवद्धता प्रकट गरे ।

उनले महानगरको तर्फबाट पोखरामा देखिएका समस्याको विषयमा अध्ययन गरेर दोशी उपर कारबाहीका लागि सिफारिस गरेको बताए । ‘यहाँहरुको आन्दोलन प्रति हाम्रो ऐक्यवद्धता छ । हामी यहाँहरुसंगै छौं ।

सहकारीमा समस्या भयो भनेपछि चार्टड एकाउण्टेन्ट राखेर छानविन गर्दै पहिलो प्रतिवेदन हामीले बुझाएका हौं’ उलने भने । प्रमुख आचार्यले समस्या नभएका सहकारीहरु आत्तिनु नपर्ने पनि बताए । सहकारी पीडितका समस्या बुझेरै महानगरले इनिसियसन लिएर पक्रिया अगाडि बढाएको उनको भनाई छ ।

सहकारी पीडितहरुले प्रतिवादीलाई तुरुन्त कारबाही गर्न आग्रह गरेका छन् । उनीहरुले सहकारी पीडितका समस्या समिति गठन गरेर समाधान गर्न र कानून संसोधन गरेर भएपनि बचतकर्ताको पैसा फिर्ता दिने व्यवस्था गर्न आग्ह गरेका छन् ।

पीडितहरुले गितेन्द्र बाबु (जीवी) राई र देवकुमार नेपालीलाई पक्राउ गर्न किन ढिलाई भएको हो ? भनेर समेत प्रश्न गरेका छन् । पक्राउ गर्न र न्यायका लागि के के काम भइरहेको छ भनेर त्यसको स्वेतपत्र सार्वजनिक गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

सहकारीको समस्या राष्ट्रिय समस्या भएको भन्दै गम्भिरतापूर्वक लिन उनीहरुको आग्रह छ । न्याय नपाउँदासम्म र सहकारीको समस्या समाधान नहुँदासम्म आफूहरुको आन्दोलन निरन्तर रहने सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

 

  • १० बैशाख २०८१, सोमबार १९:०९ प्रकाशित