उपनिर्वाचन : मतदानका दिन के-के गर्न पाइँदैन ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगले वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सो निर्णय गरेको हो ।

आयोगले मतदान हुने दिने विभिन्न कार्यहरू गर्न बन्देज गरेको छ ।

मतदानका दिन के-के गर्न पाइँदैन ?

-उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने
-दफा ५ बमोजिम मतपत्रको दुरुपयोग गर्न नहुने
-दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने, -दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने
-दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने
-दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने
-दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने
-दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने
-दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनै पनि कार्य हुन नदिने र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने निर्णय भएको छ ।

  • १० बैशाख २०८१, सोमबार १६:१२ प्रकाशित