माधव नेपालद्वारा पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्ने कार्यक्रम बहिष्कार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा अनुपस्थित भएका छन् ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।

गोदावरीस्थित सनराइज हलमा आयोजित उक्त कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गरेको छ । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई समेत निम्ता गरिएको सो कार्यक्रममा नेता नेपाल भने अनुपस्थित भएका हुन् ।

नेपालको सचिवालयका एक सदस्यले भने, ‘औपचारिकताका लागि निम्तो आएको थियो । तर अध्यक्षज्यूको आज अरु ठाउँमै कार्यक्रम थियो । जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्‍यो । उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित पनि भएन ।’

सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी भएका छन् ।

  • १० बैशाख २०८१, सोमबार १५:२४ प्रकाशित