सुद्धताको खोजी

जहाँ दूध किन्न कुपन लिएर पालो पर्खन्छन् उपभोक्ता

राति तीन बजेदेखि नै थेगिनसक्नु भीड, सुद्ध र कम मूल्य भएकाले उपभोक्ताको आकर्षण

गोविन्द सुवेदी

पोखरा ।
पोखरा वडा नम्बर १४ भेडिफारमका रमेश जिसी आइतबार विहान ४ बजे भेडीफारम स्थित राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको उत्तरतर्फको मेन गेटमा पुगे । उनी त्यहाँ पुग्दा लाइन लामो लागेको थियो । त्यसलाई छिचोल्दै उनले सुरुमा कुपन लिए अनी कुपन अनुरुपको पालो कुरेर एक पोका दूध लिए ।

राति नै पुग्ने, कुपन लिने अनि दूध लिएर घर फर्कने त्यहाँ हरेक दिन पुग्ने उपभोक्ताको दैनिकी नै बन्ने गरेको छ । दूध अन्यत्र पनि पाइने तर, त्यहाँ जस्तो नपाइँने भएका कारण यसरी आफू र अरुहरुपनि लाइनमा बसेर दूध लिने गरेको जिसीले सुनाए ।

‘दूध अन्यत्र पनि पाइन्छ । लाइन पनि बस्नुपर्दैन । तर, यहाँ यस्तै हो सधैं लाइन बस्नुपर्छ । कुपन लिनुपर्छ अनि फेरी कुपन अनुरुप पालोमा दूध लिएर फर्कने हो ।’ उनले भने, ‘एक पटक दूध लगेर पिउनुहोस्, त्यसपछि आफै थाहा पाउनुहुनेछ । यहाँको पिएपछि अन्यत्रको दूध दूध जस्तो नै लाग्दैन ।’

पशु प्रजनन् केन्द्र पोखराको दूध विक्री केन्द्रका कर्मचारी दीपेन्द्र आचार्यले गुणस्तरीय दूध भएका कारण किन्नका लागि दैनिक भिड लाग्ने गरेको हो । ‘हामी गाइभैंसी दुहेर ठेकी पनि पखाल्दैनौं ।

दूधलाई पार्चमेन्ट गरेर प्याकेजिङ गरिन्छ । जसका कारण दूधको गुणस्तर राम्रो हुन्छ ।’ उनले भने, सस्तो र गुणस्तरीय भएका कारण यहाँ किन्नेहरुको भिड लग्ने गरेको हो ।’

उनका अनुसार दैनिक तीन सय देखि चार सय लिटर दूध त्यहाँबाट विक्री हुनेगरेको छ । राति नै नपुगे दूध किन्न पाइँदैन । त्यसैले स्थानीय र केही टाढाबाट समेत यसरी लाइन लागेरै दूध किन्नेहरुको भिड लाग्ने गरेको हो ।

आचार्यका अनुसार भैंसीको दूध प्रतिलिटर ११० रुपैयाँ र गाईको दूधलाई प्रतिलिटर ७० रुपैयाँ पर्छ । बाहिर सुद्ध भनेर बेचिने भैंसीको खुला दूधको मूल्य १४० र गाईको दूधको मूल्य १०० रुपैयाँ पर्छ । यसरी किनिने दूधको गुणस्तर नहुने उपभोक्ताहरु गुनासो गर्नेगर्छन् ।

आयोजना स्थलका बासिन्दाका लागि पुगेको लाभ

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख डा. जगदिश पाण्डे सस्तो र गुणस्तरीय दूध आयोजना स्थलका बासिन्दाका लागि एक प्रकारको लाभ नै रहेको बताउँछन् ।

‘यो ठाउँका मानिसहरुले सुरुमा जग्गा दिनेदेखिको योगदान गर्नुभएकैले यो (पशु प्रजनन् केन्द्र) रहन सम्भव भएको हो ।

त्यसैले यहाँ उत्पादन हुने गुणस्तरीय बस्तु तथा सेवाको पहिलो हकदार यहाँका स्थानीय वासिन्दा नै हुनुहुन्छ ।’ उनले भने ।

उनका अनुसार फामको उपपदार्थका रुपमा गाई भैंसीको दूध र अण्डा लगायत छन् । प्रमुख डा. पाण्डेले भने, ‘दूध, अण्डा लगायतका उत्पादन हाम्रो फोकस होइन । ती उप उत्पादन हुन् । हाम्रो ध्यान पशुपन्छीको नस्ल सुधारमै हुन्छ ।’

  • १० बैशाख २०८१, सोमबार १२:३३ प्रकाशित